माया कुमारी ताडी – बझाङ कृषि ज्ञान केन्द्रको आयोजनामा मष्टा गाउँपालिकामा प्रदेश कृषि कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।स्थानिय तहमै गएर सम्झौता गर्ने यो कृषि ज्ञान केन्द्रको पहिलो अभ्यास हो यस बाट खर्चमा मितब्ययिता हुने ,कार्यक्रम बारे जनप्रतिनिधि र स्थानिय तह सङ समन्वय सहकार्य हुने र कार्यान्वयनमा पारदर्शीता तथा अनुदान सदुपयाेग हुने र गोष्ठीमा कृषि ज्ञान केन्द्रबाट छनोट भएका किसान, कृषि समूह तथा सहकारीहरूले अनिवार्य रूपमा व्यवसायिक रूपमा गरेका बाली तथा तरकारी खेतीको बीमा गरेपछि मात्र अनुदान रकम उपलब्ध गराइने बताए । कार्यक्रममा कार्यालय प्रमुख जनक सिंहले यस वर्ष व्यवसायिक कृषि गर्ने किसानहरूले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेको खण्डमा ८ प्रतिशत ब्याज कृषि ज्ञान केन्द्रले तिरि दिने व्यवस्था रहेको बताए। यसले किसानहरूलाई व्यवसायिक खेती तर्फ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।
जिल्ला भरिका १२ वटै गाउँ–नगरपालिकाका लागि विभिन्न शीर्षकमा जम्मा ४ कराेड ८० लाख अनुदान रकम व्यवस्था गरिएको छ ।साथै, कृषि ज्ञान केन्द्रमा गर्नुपर्ने सम्झौता किसानहरूको सहजताका लागि सम्बन्धित पालिकामै पुगेर गर्ने नयाँ अभ्यास सुरु गरिएको छ, जसले पारदर्शिता, सुशासन र सेवाग्राही मैत्री कामकाजमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
मष्टा गाउँपालिकाका लागि रैथाने बाली प्रवर्द्धनतर्फ ४० लाख रुपैयाँ अनुदान व्यवस्था गरिएको छ। ३० दिने सूचना प्रकाशनपछि ५४ वटा निवेदन परेका थिए, जसमध्ये ४५ वटा छनोट भएका छन्।
कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख जनक सिंहको अध्यक्षता तथा मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष हर्क धामी, वडा नम्बर १ का अध्यक्ष रामचन्द्र रोकाया, वडा नम्बर ६ का अध्यक्ष शिवराज बोहरा, वडा नम्बर ४ का अध्यक्ष उत्तम जोशी, वडा नम्बर ७ का अध्यक्ष धनबहादुर जेठारा, कार्यपालिका सदस्यहरू, सम्झौता गर्ने किसानहरू, कृषि ज्ञान केन्द्रका कर्मचारी मदन जोशीलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
एकै दिन किसानहरूलाई गाउँपालिकामा बोलाएर सम्झौता गरिएको कार्यप्रति किसानहरूले निकै राम्रो पहल भएको प्रतिक्रिया दिएका छन्।



























