माया कुमारी ताडी -काठमाडौं२३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज सम्माननीय प्रधानमन्त्री समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आफू मन्त्री पदमा नरहने निर्णय गरेको उल्लेख गरेका छन्। २०८२ भदौ ३० गते नियुक्त भएका घिसिङले छोटो अवधिमै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सेवा प्रवाह र विकासका कामलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन्।
पत्रमा उनले सरकारमा सहभागी भएर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, मन्त्रालयअन्तर्गतका कर्मचारी, सहकर्मी मन्त्रीहरू र सरोकारवालाहरूको सहयोगप्रति आभार प्रकट गरेका छन्। उनले आफ्नो कार्यकालमा सुशासन कायम गर्ने, विकास परियोजनाहरूलाई गति दिने र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।
राजीनामापछि पनि देश र जनताको हितका लागि आवश्यक परेमा पुनः जिम्मेवारी लिन तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्। राजनीतिक वृत्तमा उनको राजीनामालाई पछिल्लो राजनीतिक समीकरण सँग जोडेर हेरिएको छ। जेन्जी आन्दोलनको म्यान्डेटबाट मन्त्री बनेका घिसिङ उज्यालो नेपाल पार्टी निर्माण गरी रास्वपा सँग पार्टी एकता गरी घिसिङ हाल रास्वपा केन्द्रीय उपाध्यक्षमा मनोनित हुनुभएको छ।
आगामी दिनमा मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा चलिरहेको छ
।



























