मष्टा गाउँपालिका वडा नं. १ मा अन्तरविद्यालय हाजिर जबाफ प्रतियोगिता सम्पन्न
बझाङ — मष्टा गाउँपालिका वडा नं. १ मा अवस्थित चार वटा विद्यालयबीच वडा स्तरीय अन्तरविद्यालय हाजिर जबाफ प्रतियोगिता सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा कक्षा ६-८ सम्म पठनपाठन गराउँदै आएका विद्यालयहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा घचाया मावि, सरस्वती विद्या मन्दिर मावि, माइतिबन आधारभूत विद्यालय र सुर्मा आधारभूत विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। ज्ञान, सामान्य ज्ञान र पाठ्यक्रममा आधारित विविध विषयमा आधारित सो प्रतियोगितामा माइतिबन आधारभूत विद्यालय प्रथम, घचाया मावि द्वितीय तथा सरस्वती विद्या मन्दिर मावि तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै, सुर्मा आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रामचन्द्र रोकायाले गर्नु भएको थियो। कार्यक्रममा वडा सदस्य कलक थापा, तुलसी द्वाल, शिवराज खड्का, जुन्धारन सार्की, मष्टा गाउँपालिका शिक्षा शाखा प्रमुख पृथुराज जोशी, वडा सचिव सूर्यप्रकाश जोशी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै वडा अध्यक्ष रोकायाले “हाजिर जबाफजस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा उत्पन्न गरी गुणस्तर सुधारतर्फ टेवा पुर्याउने विश्वास लिएको” बताउनुभयो।
प्रतियोगिता मार्फत विद्यार्थीहरूलाई सिकाइप्रति आकर्षण, तत्परता र उत्साह थप बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



























