बझाङ — मष्टा गाउँपालिका वडा नं १ अन्तर्गतका दुई विद्यालयमा मष्टा आराेग्य केन्द्रको संयोजनमा आयोजित योग शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
हिजो असार ३ गते सरस्वती माध्यमिक विद्यालय, रनाडामा र आज असार ४ गते कोटदेवलको घचाया माध्यमिक विद्यालयमा आयोजित उक्त शिविरमा बझाङ जिल्ला पतञ्जली योग समिति बाट आएका प्रशिक्षकहरूले विद्यार्थी, शिक्षक तथा स्थानियहरुलाई योग सिकाए।
सरस्वती माविमा पतञ्जली योग समिति बझाङका रुद्दा सिँह मल्ल र देवकी भट्टले विभिन्न योग आसन र तिनको महत्वबारे प्रशिक्षण दिएका थिए भने घचाया माविमा उपाध्यक्ष कृष्णबहादुर सिँहले दक्षतापूर्वक योग सिकाउनुभयो। उहाँले भन्नुभयो, “यदि जीवन स्वस्थ र खुसी बनाउन चाहनुहुन्छ भने योग अभ्यास गर्नुपर्छ, जीवन आफैँ खुसी बन्छ।”
कार्यक्रमलाई मनोरञ्जनात्मक तरिकाले नाच्दै–गाउँदै संचालन गरिएको थियो। सरस्वती माविको शिविरमा विद्यालयका प्राचार्य, शिक्षकहरू तथा बिद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
दुवै कार्यक्रममा अध्यक्षता मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकाया (आरसी) ले गर्नुभएको थियो। उहाँले भन्नुभयो, “स्वास्थ्य राम्रो भए जीवनका उद्देश्यहरू प्राप्त गर्न सकिन्छ। त्यसैले सिकेका योग अभ्यासलाई जीवनशैलीमा लागू गरौं र स्वस्थ बनौं।”
शिविरमा वडा सदस्य, मष्टा गाउँपालिका खेलकुद सदस्य कमल रोकाया, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न गरिएको यस्तो पहलले दीर्घकालीन रुपमा समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।



























