बझाङ – जयपृथ्बि नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न तथा परीक्षालाई मर्यादित बनाउन नयाँ परीक्षा प्रणाली लागू गरेको छ।
नगरपालिकाले कक्षा ४ देखि ९ सम्म का विद्यार्थीहरूको वार्षिक परीक्षा व्यवस्थित गर्न २० वटा परीक्षा केन्द्र तोकेको छ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका (कपि) नगरपालिकाले नै व्यवस्थापन गर्नेछ। साथै, हरेक परीक्षा केन्द्रमा नगरपालिकाका कर्मचारीहरू निरीक्षणका लागि खटाइनेछन्, जसले परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन मद्दत गर्नेछ।
परीक्षा व्यवस्थापन र मूल्यांकन प्रणाली
नगरपालिकाले परीक्षा सञ्चालनको सम्पूर्ण व्यवस्थापन गर्ने निर्णय गरेको छ।
प्रत्येक दिन बिहान १०:३० बजे परीक्षा केन्द्रहरूमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याइनेछ।
परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका संकलन गरी नगरपालिकाले कोडिङ प्रणालीमार्फत जाँच गर्नेछ।
परीक्षाको नतिजा विद्यालयहरूलाई नगरपालिकाले नै उपलब्ध गराउनेछ।
नगर प्रमुख चेतराज बजाल का अनुसार, कोडिङ प्रणाली बाट उत्तरपुस्तिका परीक्षण गरिने भएकाले परीक्षामा निष्पक्षता र पारदर्शिता रहनेछ।
सामुदायिक विद्यालयमा सुधारको प्रयास
नगरपालिकाका उपप्रमुख रतन सिंह का अनुसार, सामुदायिक विद्यालयहरूमा सुधार ल्याउन, शिक्षामा रुपान्तरण गर्न र निःशुल्क शिक्षामा जोड दिन यो कदम चालिएको हो।
नगर युवा, शिक्षा तथा खेलकुद शाखाका अधिकृत निरज प्रसाद रेग्मी ले नगरपालिकाले लिएको यस कदमले सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
विद्यार्थीहरूको लागि नयाँ परीक्षा नीति
जयपृथ्बि नगरपालिकामा ४६ विद्यालय रहेका छन्, जसमध्ये २३ विद्यालयका १,६५० विद्यार्थी २० परीक्षा केन्द्रमार्फत परीक्षामा सहभागी हुँदैछन्।
नयाँ परीक्षा प्रणालीअनुसार—
३ विषयभन्दा बढीमा अनुत्तीर्ण भएमा विद्यार्थी अर्को कक्षामा भर्ना हुन पाउने छैनन्।
२ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा (चान्स परीक्षा) दिने व्यवस्था मिलाइएको छ।
विद्यालय मर्ज र दरबन्दी मिलान
नगरपालिकाले यसअघि नै विद्यालय मर्ज र दरबन्दी मिलानको काम सम्पन्न गरिसकेको छ। उपप्रमुख रतन सिंह का अनुसार, यो प्रक्रियाले विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै शैक्षिक सुधारमा टेवा पुर्याएको छ।
नगरपालिकाले लिएको यी सुधारात्मक कदमहरूले सामुदायिक विद्यालयहरूको शिक्षालाई थप गुणस्तरीय, प्रतिस्पर्धात्मक र मर्यादित बनाउने विश्वास गरिएको छ।
























