जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा सभा भव्य रूपमा सम्पन्न
माया कुमारि ताडि बझाङ,
“स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तरगत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा सभा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति अध्यक्ष नर बहादुर बोहराको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख, १२ वटै पालिकाका प्रमुख र उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, वडा अध्यक्षहरू, गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान १२ वटै स्थानीय तहबाट छनोट गरिएका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। त्यसैगरी, स्वास्थ्यकर्मीहरूबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने स्वास्थ्यकर्मीहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा जिल्लाकै उत्कृष्ट अनमीका रूपमा सुनिता ओलीलाई छनोट गरी सम्मान गरिएको छ।
जिल्लामा पूर्ण खोप घोषणा गर्ने पहिलो पालिका जयपृथ्वी नगरपालिकालाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ। साथै, अन्य गाउँपालिका तथा नगरपालिकाहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमको मध्यभागमा सांस्कृतिक कार्यक्रम, कविता वाचन, गीत-संगीत लगायतका प्रस्तुतिहरूले सभालाई झनै आकर्षक बनाएको थियो।
यस कार्यक्रमले जिल्लामा स्वास्थ्य सेवा, विशेष गरी खोप कार्यक्रमप्रति जनचेतना र सहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।



























