बझाङको मष्टा गाउँपालिका वडा नं. १ समदेउ बस्तीका २२ परिवारलाई परम्परागत सांस्कृतिक पोशाक गुन्यु, चोली, पटुका र मन्याठी वितरण गरिएको छ।
वडा अध्यक्ष रामचन्द्र रोकाया, वडा सदस्य कलक थापा र वडा सदस्य शिवराज खड्काले एक विशेष कार्यक्रमका बीच समुदायका सदस्यहरूलाई सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले उक्त पोशाक वितरण गरेका हुन्।
वडा अध्यक्ष रोकायाका अनुसार परम्परागत पोशाकले समुदायको सांस्कृतिक पहिचान झल्काउने भएकाले यसलाई प्रोत्साहन गरिएको हो। उनले भने, “यो केवल पोशाक वितरण मात्रै होइन, हाम्रो मौलिक संस्कृतिको संरक्षणको प्रयास पनि हो। यसले विवाह, व्रतबन्ध र अन्य सार्वजनिक समारोहहरूमा सबैलाई समान पहिचान दिन मद्दत गर्छ।” साथै, आगामी वर्षहरूमा अन्य बस्तीहरूमा पनि यो अभियानलाई विस्तार गरिने उनले बताए।
स्थानिय बासिन्दाहरूले वडा कार्यालयको यो पहलप्रति खुसी व्यक्त गर्दै आफ्नो संस्कृतिको संरक्षणमा योगदान पुगेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।
—



























