बझाङ, – त्रिभुवन विश्वविद्यालय अन्तर्गत श्री शान्ति आदर्श क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) ले पुनः सभापतिको पद जित्न सफल भएको छ। बम बहादुर धामी सभापतिका रूपमा निर्वाचित भएपछि यो पद लगातार क्रान्तिकारी संगठनको कब्जामा रहेको छ।
बिगतको कार्यकालमा पनि अखिल (क्रान्तिकारी) कै सागर पण्डित सर्वसम्मत सभापति निर्वाचित भएका थिए। यस पटक पुनः क्रान्तिकारी संगठनबाटै बम बहादुर धामी निर्वाचित भएका छन्। धामी सहिद परिवारका सदस्य हुन्, जसका बुवाले महान जनयुद्धमा बलिदान गरेका थिए। यो जितलाई सहिद परिवार र विद्यार्थी हकहितको जितका रूपमा पनि हेरिएको छ।
त्यागी भूमिमा फेरि क्रान्तिकारी नेतृत्व
शान्ति आदर्श क्याम्पस अवस्थित क्षेत्रलाई माओवादी जनयुद्धको उर्वर भूमि मानिन्छ। यो भूभागले सात जना सहिदहरूलाई बलिदान दिएको ऐतिहासिक पृष्ठभूमि बोकेको छ, जसले गर्दा यसलाई ‘त्यागी भूमि’ भनेर पनि चिनिन्छ। जनयुद्धको समयमा यो क्षेत्र संघर्षको केन्द्रबिन्दु बनेको थियो, जसका कारण यहाँका जनताले परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका छन्।
यसै क्षेत्रबाट संविधानसभा सदस्य धर्मराज बिक, संविधानसभा सदस्य जनक बुढा तथा हाल छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउने निर्वाचित भइसकेका छन्। यस क्षेत्रका जनप्रतिनिधिहरू लामो समयदेखि समाज परिवर्तनका लागि संघर्षशील रहँदै आएका छन्।
शान्तिपूर्ण निर्वाचन, विद्यार्थीको उत्साहजनक सहभागिता
स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिका २०८१ अनुसार सम्पन्न भएको हो। क्याम्पसमा अध्ययनरत विद्यार्थी संगठनहरूबीच समझदारी कायम गर्दै संयुक्त प्यानल बनाइएपछि सभापतिका लागि क्रान्तिकारीका उम्मेदवार बम बहादुर धामी सर्वसम्मत चयन भएका हुन्। अन्य पदहरूमा पनि विभिन्न संगठनहरूबीच भागबण्डा अनुसार सहमति भएको थियो।
उपसभापतिमा नेपाल विद्यार्थी संघका बविन सिंह निर्वाचित भएका छन् भने सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी शान्ति बोहरा चयन भएकी छन्। सह-सचिवमा अ.ने.रा.स्ववियुकी मनिषा खवास विजयी भएकी छन् भने कोषाध्यक्षमा अखिल नेपाल विद्यार्थी युनियनका शम्सेर जाग्री चयन भएका छन्।
नव निर्वाचित स्ववियु सदस्यहरूमा शान्ति नेपाली, झल्का बुढा, समित सिंह, कल्पना दर्जी, सपना कुमारी जप्रेल र सरस्वती जाग्री रहेका छन्। निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
शान्ति आदर्श क्याम्पसमा पछिल्ला निर्वाचनहरूमा क्रान्तिकारी संगठनको निरन्तर जित हुँदै आएको छ। यसपटक पनि सभापतिमा सर्वसम्मत रूपमा क्रान्तिकारी उम्मेदवार चयन भएपछि संगठनको पकड अझ मजबुत भएको देखिन्छ। नव निर्वाचित सभापति बम बहादुर धामीले विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारका लागि आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
























