एमएफएन फाइटर रविन्द्र ढाटलाई प्राेत्साहान गर्न दुर्गाथली गाउँपालिकाद्वारा आर्थिक सहयाेगकाे घोषणा
माया कमारि ताडि
बझाङ — नेपाली एमएमए फाइटर ‘बझाङ बाघ’ उपनामले परिचित बझाङ बिथ्थडचिर गाउँपालिका वडा नं. ४ निवासी प्रतिभाशाली खेलाडी श्री रविन्द्र ढाटले भारतको नोएडामा सम्पन्न म्याटिक्स फाईट नाइट–१७ (MFN-17) मा भारतीय खेलाडी चनरेङ कोरेनलाई पराजित गर्दै वाण्टमवेट च्याम्पियनसिप टाइटल जितेर देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काउन सफल भएका छन्।
यस ऐतिहासिक जितप्रति दुर्गाथली गाउँपालिका, बझाङ का अध्यक्ष दिल बहादुर थापा तुफान ले अत्यन्त खुशी व्यक्त गर्दै दुर्गाथली गाउँपालिकाले एक विशेष बधाईसहित आर्थिक सम्मान गर्ने घोषणा गरेको छ। रविन्द्र ढाटलाई रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले हस्ताक्षरित उक्त विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बझाङ जिल्लाको नाम चम्काउने खेलाडीप्रति सम्मान व्यक्त गरिएको भनिएकाे छ ।
अध्यक्ष थापा तुफानले देशको नाम विश्वभर चिनाउने कार्यमा योगदान पुर्याएका खेलाडीहरू गौरवका पात्र भएको उल्लेख गर्दै, रविन्द्र ढाटजस्ता खेलाडीहरूले नेपालको झन्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराएकोमा गौरव महसुस भएको बताए। साथै उनले भने, “देशको नाम चिनाउन सफल भएका खेलाडीहरूलाई सम्मान गर्नु, प्रोत्साहन गर्नु हामी सबैको कर्तव्य हो।”
खेलाडिहरु देशका पहिचान हुन्, उनीहरूको सफलतालाई प्रेरणाको स्रोत बनाई दुर्गाथली गाउँपालिकाले खेल र खेलाडीहरूलाई समेत प्रोत्साहन गर्न सहयोग गरेकाे हाे ।
रविन्द्र ढाटको यो उपलब्धिले बझाङ जिल्लाको नाम मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे नाम चिनाउन मा याेगदान पुर्याएको छ । बरु सम्पूर्ण खेल क्षेत्रमा नयाँ ऊर्जा भरिदिएको विश्वास दुर्गाथली गाउँपालिकाले व्यक्त गरेको छ। यसले स्थानीय तह र सरकारको ध्यान खेल र खेलाडीप्रति अझ बढी केन्द्रीत हुने अपेक्षा गरिएको छ।























