काेटदेवल स्वास्थ्य चौकी भवन हस्तान्तरण, छिटाेछरिताे गर्ने उपभाेक्ता र निर्माण कर्तालाई प्रशंसा
बझाङ – मष्टा — मष्टा गाउँपालिका वडा नं. १ अन्तर्गत निर्माण गरिएको कोटदेवल स्वास्थ्य चौकी भवन आज एक विशेष समारोहका बीच उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। “पुअर कन्ट्रक्सन प्रा. लि.” द्वारा निर्माण सम्पन्न गरिएको सो भवन निर्माणकर्त्ता भुपेन्द्र खड्काबाट औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने वडा नं. ६ का अध्यक्ष शिवराज बोहरा, स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकाया, कार्यपालिका सदस्य प्रकाश ओखेडा, वडा सदस्य कलक थापा, शिवराज खड्का, गाउँपालिकाका इन्जिनियर दीपक बोहरा, स्वास्थ्य इञ्चार्ज प्रकाश खड्का, महिला स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी, समाजसेवी, महिला, दलित तथा अपाङ्ग प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कृषि प्राविधिक सुरज बिकले गर्नुभएको थियो।
निर्माण कार्य मिति २०८१ साल चैत्र १४ गते जग खन्ने कार्यबाट सुरु गरिएको थियो भने मिति २०८२ साल असार २२ गते ९८ दिनमा सम्पन्न गरिएको थियो। १० कोठे सो भवनको निर्माणमा संघीय सरकारबाट ३८ लाख र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँको लागत बजेट लागेको थियो।
उल्लेखनीय रुपमा छिटो र गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न गरिएकामा वडा नं. १ कार्यालयले निर्माण उपभोक्ता समिति र निर्माणकर्ता भुपेन्द्र खड्कालाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरेको छ। उपस्थित सहभागीहरूले टिका लगाएर खुसीसाथ बधाई व्यक्त गरेका थिए।
कार्यक्रमका अधिकांश वक्ताहरूले मष्टा गाउँपालिका वडा नं. १ ले गरेका कामहरू छिटोछरितो, गुणस्तरीय र समयमै सम्पन्न गर्दै आएको उल्लेख गर्दै समग्र मष्टा गाउँपालिका विकासको गतिमा अघि बढिरहेकोमा सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।























