बझाङको मष्टा गाउँपालिकामा प्रशासकीय भवन निर्माण कार्य सुरु
बझाङ, वैशाख १९ – बझाङ जिल्लाको मष्टा गाउँपालिकामा प्रशासकीय भवन निर्माण कार्य सुरु गरिएको छ। कुल लागत अनुमान रु ८ करोड १९ लाख ४५ हजार ६२ रुपैयाँ ५७ पैसाको रहेको यो भवन एसई बेताल जेभी कम्पनीले रु ५ करोड ८१ लाख १९ हजार ९९७ रुपैयाँ ३६ पैसामा निर्माण गर्ने सम्झौता भएको छ। निर्माण कार्य २०८३ सालको असार मसान्तभित्र सम्पन्न गरिने लक्ष्य छ।
गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले आफ्नो कार्यकालमा जनतासामु गरेका प्रतिबद्धता अनुसारका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बताए। उनले भवन निर्माणका लागि जग्गा दान गर्ने नवराज जोशीप्रति आभार प्रकट गरे।
गाउँपालिकाका ईन्जिनियर दीपक बोहराले निर्माण कार्य स्वीकृत लागत स्टमेट अनुसार तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश खड्काले मष्टा गाउँपालिकामा हाल प्रशासनिक सेवा प्रवाहका लागि प्रयाप्त भौतिक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै नयाँ भवन बनेपछि कार्यालय सञ्चालन, सेवा प्रवाह र कर्मचारी व्यवस्थापनमा उल्लेखनीय सुधार हुने बताए।
उनले भने, “हालका अस्थायी संरचनामा सेवा दिन कठिनाइ भइरहेको छ। नयाँ भवनले कार्यालयलाई व्यवस्थित बनाउनुका साथै स्थानीयलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।”
स्थानीयबासीहरूले भवन निर्माणबाट गाउँपालिकाको विकास र सुशासन प्रवाहमा सशक्त टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।























