- बझाङ, – मस्टा गाउँपालिका-१ का १० वर्षमुनिका कराते खेलाडी अंशु खड्काले भारतमा आयोजित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता हात पार्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।
२०२५ फेब्रुअरी ८ मा दक्षिण भारतको तमिलनाडु राज्यस्थित फिजिकल एजुकेशन एन्ड स्पोर्ट्स युनिभर्सिटी, चेन्नई मा आयोजित एक्सप्रेस वर्ल्ड कराते मास्टर्स एसोसिएसन (WKMA) द्वारा आयोजित प्रतियोगितामा भारतभरिका २२,००० खेलाडी सहभागी थिए। तीमध्ये अंशुले लगातार १० खेल जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएका छन्।
मस्टा गाउँपालिकाको गर्वको विषय
अंशुको ऐतिहासिक उपलब्धिबारे मस्टा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र रोकायले प्रतिक्रिया दिँदै भने,
“अंशुले मस्टा गाउँपालिका मात्र नभई सम्पूर्ण देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेका छन्। यस्तो गौरवपूर्ण उपलब्धि हासिल गर्ने अंशुलाई वडा नं. १ को कार्यालयको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।”
अंशुको परिवारमा बाजे नवराज खड्का, बज्यै सुना खड्का, बुबा बिक्रम खड्का र आमा इस्वरी खड्का रहेका छन्। परिवारको सहयोग, निरन्तर मेहनत, र अंशुको दृढ संकल्पका कारण उनले यो ऐतिहासिक सफलता हासिल गरेका हुन्।
सामाजिक अभियन्ता सुरेन्द्र सेठ्ठीले अंशुको उपलब्धिबारे जानकारी गराउँदै यो सफलता सम्पूर्ण नेपाली खेल क्षेत्रको गौरव भएको बताएका छन्। बझाङबाट पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने अंशुलाई देशभरबाट बधाई तथा शुभकामना प्राप्त भइरहेका छन्।
नेपाललाई अन्तर्राष्ट्रिय खेलमञ्चमा चिनाउने अंशुको यस ऐतिहासिक उपलब्धिले आगामी दिनमा अन्य नेपाली खेलाडीहरूलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।























